खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गर्भनर पौडेल

असार २२, २०८२
नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले कृषि र साना तथा मझौला उद्यमजस्ता प्राथमिकता प्राप्त क्षेत्रमा खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्या देखिएको बताउनुभएको छ । ठूला उद्यमी तथा व्यवसायीलाई हेरेर मात्र मौद्रिक व्यवस्था ल्याइँदा समस्या समाधान नहुने उहाँको भनाइ छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को कार्यक्रममा बोल्दै गभर्नर पौडेलले कृषि र साना तथा मझौला उद्योगको समस्यालाई केन्द्रमा राखेर मौद्रिक नीति ल्याउने तयारी भइरहेको समेत बताउनुभयो । मुलुकको समग्र अर्थतन्त्र र वित्तीय क्षेत्रमा देखिएको समस्या समाधान गर्ने विषय राष्ट्र बैंकको हातमा मात्र नरहेको उहाँको भनाइ थियो ।