बकर ईद हर्षोल्लासका साथ मनाइँदै

जेष्ठ २४, २०८२ | काठमाडौं
मुस्लिम धर्मावलम्बीहरुले बकर ईद हर्षोल्लासका साथ मनाउँदै छन् । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् ।
नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । बकर ईदको अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिद लगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको घुइँचो लागेको छ ।
हिजरी संवत अनुसार १४४० वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।
यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ । मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ ।
मक्का मदिना जान नपाउने हजयात्री समेतले घर घरमै बकर ईद मनाउँछन् । यो पर्वको मुख्य उद्देश्य नै हज यात्रा हो । यस पर्वमा अल्लाहलाई खुसी पार्न जनावरको कुर्बानी अर्थात् बली दिने गरिन्छ ।