बुटवलमा दर्ता बिना सञ्चालित ६ क्लिनिक बन्द

जेष्ठ २४, २०८२ | तिलोत्तमा

रुपन्देहीको बुटवलमा दर्ता बिना सञ्चालनमा रहेका ६ वटा मेडिकल क्लिनिक बन्द भएका छन् । ती क्लिनिक जिल्ला प्रशासन कार्यालय सहितको टोलीले बन्द गराएको हो । 

जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अनुगमन टोलीले बुटवलका विभिन्न ११ वटा मेडिकल तथा क्लिनिकमा अनुगमन गर्दा ६ वटा क्लिनिक दर्ता बिना नै सञ्चालनमा रहेको भेटिएपछि बन्द गराएको सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवि रानाले बताउनुभयो । 

जनताको गुनासो आएपछि क्लिनिकमा अनुगमन गरिएको र दर्ता बिनाका सञ्चालन भईरहेको भेटिएपछि बन्द गराइएको उहाँले जानकारी दिनुभयो । 

योसँगै एक डेण्टल क्लिनिक समेत बन्द गरिएको छ । अनुगमन टोलीले बुटवल अस्पताल लाईनमा रहेको रुचिका क्लिनिक, मंगलम स्वास्थ्य क्लिनिक, पुनम मेडिकल एण्ड क्लिनिक, चन्दन स्वास्थ्य क्लिनिक एण्ड फार्मेसीको कलेक्स प्रयोगशाला बन्द गराएको हो ।

 त्यस्तै, बरदान क्लिनिक प्रा लि र शिला मेडिकल हलको क्लिनिकलाई बन्द गराएको उहाँले जानकारी दिनुुभयो । अनुगमन टोलीले अस्पताललाईनकै बुटवल डेण्टल प्रालिलाई पनि बन्द गरेको छ । 

अनुगमनमा स्वास्थ्य कार्यालय, बुटवल उपमहानगरपालिका, बुटवल उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, उपभोक्ता हित संरक्षण मञ्च र प्रहरी प्रतिनिधि सहभागी थिए । 

बन्द गरिएका सबै क्लिनिक संचालकलाई दर्ताको प्रमाणपत्र लिएपछि मात्र संचालनका लागि अनुमति दिईने सहायक प्रमुख जिल्ला अधिकारी रानाले बताउनुभयो ।


प्रतिक्रिया