मौन अवधिमा पनि अशान्त कर्णाली
वैशाख २९, २०७९
स्थानीय तह निर्वाचनको मौन अवधिमा पनि रुकुम पश्चिम, मुगु र सुर्खेतमा विभिन्न घटना भएका छन् । निर्वाचनको मुखैमा भएका घटनाका कारण मतदातामा त्रास फैलिएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१० खोलागाउँमा मतदातालाई पैसा बाँडेको भन्दै कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको छ । माओवादी उम्मेदवारले मतदातालाई पैंसा बाँडिरहेको कांग्रेस कार्यकर्ताले फेला पारेपछि दुबै पक्षबीच झडप भएको प्रहरीले जनाएको छ ।
झडपमा परी ५ जना घाइते भएको जिल्ला प्रहरी प्रमुख डीएसपी विष्णुप्रसाद सोतीले बताउनुभयो । उहांका अनुसार घाइते हुनेहरुमा नेपाली कांग्रेसका डिल्ली केसी, लालवीर ओली र डायमन केसी छन् । त्यस्तै माओवादीका तुलसीराम बुढा र जुद्धबहादुर घर्ती पनि घाइते भएको उहाँले जानकारी दिनुभयो । प्रहरीले माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार वीरेन्द्र रोकाया र माओवादी कार्यकर्ता सौगात रोकालाई पैसा बाँडेको आरोपमा हतियारसहित पक्राउ गरेको छ । उनीहरुको साथबाट ३ थान खुकुरी बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेहरुको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ भने उनीहरुको अवस्था अहिले सामान्य छ । त्यस्तै सुर्खेतको गुर्भाकोट नगरपालिका–११ का वडाध्यक्षका उम्मेदवार राजन बिसी पनि मतदातालाई पैसा बाँडेको आरोपमा पक्राउ परेका छन् ।
नेकपा एमालेबाट वडाध्यक्षको उम्मेदवार बनेका विसीले मतदातालाई पैसा बाँडेको सूचना आएपछि बुधबार राति नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले बताउनुभयो । उहाँका अनुसार प्रहरीले खानतलासी गर्दा बिसीले झोलामा १ लाख १ हजार रुपैयाँ राखेको फेला परेको थियो । यस्तै सुर्खेतको पञ्चपुरी नगरपालिका–७ धनबोटस्थित नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका प्रहरी नायब निरीक्षक नरेन्द्रप्रसाद भट्टले मतदान अधिकृत, सहायक मतदान अधिकृत र ड्युटीमा खटिएका म्यादी प्रहरीमाथि कुटपिट गरेका छन् । कुटपिटबाट मतदान अधिकृत निरज झा, सहायक मतदान अधिकृत राजेन्द्र धमलासहित केही म्यादी प्रहरी घाइते भएका छन् ।











