सम्पत्ति शुद्वीकरण सम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी अग्रवाल र भट्टमाथि सात दिन म्याद थप
वैशाख ९, २०८३ | काठमाडौं
काठमाडौं जिल्ला अदालतले सम्पत्ति शुद्वीकरण सम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाल र दीपक भट्टमाथि अनुसन्धानका लागि सात दिन म्याद थप गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले आज अग्रवाल र भट्टविरुद्ध म्याद थप गर्ने आदेश गरेको हो ।
विभागले भट्ट र अग्रवाललाई ३० दिन हिरासतमा राखी थप अनुसन्धान गर्न म्याद थप मागेकोमा अनुसन्धान अन्तिम चरणमा पुगेको अवस्थामा थप अनुसन्धान र राय प्रतिवेदन तयार गर्न दुवैजनालाई आजबाट लागु हुने गरी सम्पत्ति शुद्धिकरण निवारण ऐन २०६४ अनुसार म्याद थप गरिएको आदेशमा उल्लेख छ । भट्टलाई सम्पत्ति शुद्वीकरण कसुरमा गत चैत १९ गते पक्राउ गरिएको थियो ।
यस्तै, शंकर ग्रुपअन्तर्गत जगदम्बा होल्डिङ्सका अध्यक्ष अग्रवाललाई भने सम्पत्ति शुद्धीकरण विभागले चैत २२ मा नियन्त्रणमा लिएको थियो । विभागले अनुसन्धानकै क्रममा सुलभका बुवा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई काठमाडौंबाट नियन्त्रणमा लिएको थियो । यद्यपी, उनी हाजिरी जमानीमा रिहा भएका छन् ।








