विवादास्पद बनेपछि सुधन गुरुङद्धारा गृहमन्त्रीबाट राजीनामा
वैशाख ९, २०८३ | काठमाडौं
सेयरमा लगानी र विवादास्पद व्यवसायीसँगको साझेदारीका कारण विवादमा परेपछि रास्वपाका नेता सुधन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका छन् । चैत १३ गते बनेको बालेन्द्र शाह नेतृत्वको सरकारमा गृहमन्त्री भएका गुरुङले सरकार गठन भएको एक महिना पुग्न ४ दिन बाँकि रहँदा पद छाडेका हुन् ।
सेयरमा गरेको लगानीको विषयमा उत्पन्न विवादपछि विभिन्न क्षेत्रबाट अनुसन्धानका लागि राजिनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने टिप्पणी हुन थालेपछि गहमन्त्री सुधन गुरुङको राजीनामा आएको हो । उनले बुधवार प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर राजीनामा बुझाएका थिए । गुरुङले सम्बन्धित विषयमा निष्पक्ष छानबिन र पदमा रहँदा स्वार्थको द्वन्द्व तथा असर नपरोस् भन्ने उद्देश्यले आफूले पदबाट राजीनामा दिएको सामाजिक सञ्जालबाट समेत जानकारी दिएका छन् । सम्पत्ति शुद्धिकरणको मुद्दामा अनुसन्धानका क्रममा रहेका व्यापारीको समेत लागनी रहेको भनिएको कम्पनीमा गुरुङकोे संलग्नता रहेको पाइएको थियो ।
सेयरलगायतका अन्य लगानीका विषयमा नागरिकस्तरबाट प्रश्न उठेको विषयलाई आफूले गम्भीर रुपमा लिएको बताउँदै गुरुङले सुशासन, पारदर्शिता र जवाफदेहिताको मागलाई सम्बोधन गर्न आफूले पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गरेको बताएका छन् । उनले लेखेका छन्ः “पछिल्ला दिनहरुमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु । मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन । आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले पनि यही सन्देश दिएको छ । सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ ।” गुरुङले अगाडी भनेका छन्–“सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो । त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा Conflict of Interest नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु ।”
गुरुङले पदबाट राजीनामा दिएपछि झन्डै एक महिनाको अवधिमा सरकारमा सहभागी २ मन्त्री भूमिकाबाट बाहिर पुगेका छन् । यसअघि श्रम मन्त्रालयको नेतृत्व गरेका दीपक साह पनि केहिदिन अघि पदमुक्त भएका थिए । सरकारमा सहभागी भएको दिनबाटै सक्रियताका साथ विभिन्न घटनामा जोडिएका उच्च तहका व्यक्तिलाई पक्राउ गरि अनुसन्धान गरेर प्रशंसा कमाइरहेका बेला गुरुङको राजिनामा आएको हो । यद्यपि यो बीचमा हाईप्रोफाइल नेताहरु पक्राउ गर्दा कानुनी र प्रक्रिागत तयारी पूरा नगरेको भन्ने आरोप पनि गुरुङमाथि लागेको छ ।
गुरुङले मन्त्रालय जिम्मेवारी सम्हालेको ३ साताको अवधिमा पूर्व प्रधानमन्त्री, गृहमन्त्री तथा उच्च तहका कर्मचारी र व्यपारीसम्मका व्यक्तिमाथि पक्राउ गरि अनुन्धान भएको थियो । तर केहिदिन अघि सार्वजनिक भएको सम्पत्ति विवरणको विषयले गुरुङलाई गृहमन्त्रीबाट राजीनामा दिनुपर्ने अवस्थामा पुर्याएको हो । गुरुङले पेश गरेको सम्पत्ति विवरण अस्वाभाविक रहेको भन्दै सामाजिक सञ्जालमा समेत आलोचना भइरहेका थिए ।
सेयरमा लगानी गर्नु स्वभाविक भएपनि लगानीको स्पष्ट श्रोत खुलाउन माग भइरहेका बेला अनुसन्धानका क्रममा रहेका व्यवसायीसँग जोडिएपछि गुरुङले पद गुमाएका हुन् । गुरुङलाई पदबाट राजीनामा दिन विपक्षी दलले दवाव बढाएका थिए । त्यसैगरि जेनजी मुभमेन्ट नेपालले पनि गृहमन्त्री गुरुङमाथि लागेका आरोपको छानविनका लागि पदबाट हटाउनुपर्ने बताएको थियो । सरकारमा सहभागी मन्त्रीहरु एक पछि अर्को गर्दै विवादमा पर्ने क्रम शुरु हुँदा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वको सरकारलाई अप्ठ्यारो पारेको देखिन्छ ।
यसैबीच, आरोप लागेपछि पदबाट राजीनामा दिएर मार्गप्रशस्त गरेको र गुरुङले नैतिक जिम्मेवारीको उदाहरण देखाएको भन्दै प्रशंसा भइरहेका छन् । गत भदौको जेनजी आन्दोलनबाट राजनीतिमा उदाएका गुरुङ रास्वपामा प्रवेश गर्दै गोरखा १ बाट चुनाव जितेपछि गृहमन्त्री भएका थिए । चुनावअघि बालेन्द्र शाहलाई रास्वपा भित्र्याउने भूमिकामा समेत गुरुङ अग्रभागमा थिए ।









