रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

जेष्ठ २, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै आज सर्वोच्चले सो आदेश दिएको हो । न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइ भएको थियो । पछि मुद्दा चल्ने अवस्था आएमा वा थप प्रमाण बुझ्नुपर्ने भएमा बोलाउनेगरी कानुन व्यवसायीको जिम्मा लगाउने गरी मिश्रलाई रिहा गर्न सर्वोच्चका सहायक प्रवक्ता निराजन पौडेलले जानकारी दिनुभयो ।
त्यसअघि गत बुधबार सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले मिश्रलाई पक्राउ गर्नको कारण देखाउ र बन्दी उपस्थित गराउने आदेश गरेको थियो ।गत चैत १५ गते पक्राउ परेका मिश्रसहितका आरोपितलाई आठौँपटक मंगलबार थप ५ दिन म्याद थप गरिएको थियो ।
राजावादीले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक भएपछि त्यसमा भूमिका खेलेको आरोपमा मिश्रलगायतमाथि प्रहरीले विभिन्न अभियोगमा अनुसन्धान गरिरहेको जनाएको छ । मिश्रलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै पत्नी सारिका कार्कीले वैशाख ३० गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दिनुभएको थियो ।