सिंगिङ सुपरस्टार सिजन २ को घोषणा

जेष्ठ २, २०८२ | काठमाडौं
सिंगिङ सुपरस्टार टिमले नेपाली संगितको उन्नयन र नयाँ प्रतिभा खोजीकालागि सिजन–२ को घोषणा गरेको छ । काठमाडौंको दरबारमार्गस्थित एक होटलमा पत्रकार सम्मेलनमार्फत टिमले सिजन २ को घोषणा गरेको हो । दोस्रो सिजनको निर्णायक मण्डलमा सञ्जय श्रेष्ठ, हरिश माथेमा र विवेक श्रेष्ठ रहनेछन् । गायक तथा संगीतकारसमेत रहेका निर्णायक श्रेष्ठले पहिलो सिजनको सफलताले प्रेरित हुँदै सिजन–२ लाई अझ व्यापक, प्रतिस्पर्धात्मक र मनोरञ्जनात्मक बनाउने प्रयास गरिने बताए ।
हरेक हप्ता एक जना अतिथि निर्णायक पनि रहनेछन्, जसले प्रतिस्पर्धामा विविधता र थप मूल्यांकनको दृष्टिकोण प्रदान गर्ने विश्वास टिमको छ । सिंगिङ सुपरस्टारको निर्देशन रवि श्रेष्ठले गर्नेछन् । फिजिकल अडिसनको प्रसारण टेलिभिजन र डिजिटल मञ्चमा हुनेछ । फिजिकल अडिसन सम्पन्न भएपछि सिजन २ को ग्रान्ड प्रीमियर आयोजना गरिने निर्णायक मण्डलका सदस्य माथेमाले जानकारी दिए । ‘ग्रान्ड प्रीमियरपछि प्रतिस्पर्धीहरु निर्णायक मण्डलको मात्र नभइ दर्शकहरुको पनि समर्थनका लागि प्रस्तुत हुनेछन्, माथेमाले भने, उनीहरुको प्रस्तुतीको दर्शकीय मुल्याकनका लागि भोटिङ राउन्ड सुरु हुनेछ ।’
निर्णायक मण्डलका अर्का सदस्य श्रेष्ठले सिजन २ ले नेपाली र भारतीय प्रतिभाहरुलाई समान अवसर प्रदान गर्दै सांगीतिक प्रतिस्पर्धालाई अझ वृहत बनाउने लक्ष्य लिएको बताए ।