सीमा क्षेत्रमा ढुङ्गाले लागेर बालकको मृत्यु

कार्तिक ११, २०७९ | दार्चुला

दार्चुलाको ब्यास गाउँपालिकास्थित नेपाल भारत सीमा क्षेत्रमा भारततर्फ गरिएको बिष्फोटको ढुङ्गाले लाग्दा नेपाली एक बालकको मृत्यु भएको छ । तम्बाकुबाट घर फर्किने क्रममा बाटोमा हिडिरहेको बेला भारतीय क्षेत्रबाट उछिटिएर आएको ढुङ्गा लागेर सोहि पालिका २ का हिक्मत महराका ९ बर्षिय छोरा पवन महराको आज मृत्यु भएको वडाध्यक्ष धिरनसिह बुढाथोकीले बताउनुभयो । 

ब्यास गाउँपालिका २ मा पर्ने तम्बाकु नजिकको थि भन्ने ठाउँबाट दुम्लिङ्तर्फ बुवा र बहिनीसंगै गइरहेका बेला पवनलाई भारतीय क्षेत्रबाट आएको ढुङ्गा लागेको हो । भारतको पिथौरागढ जिल्लाको तवाघाट–लिपुलेक सडक खण्डको लखिमपुरको चट्टानी भू–भागमा सडक निर्माण गरिरहेको निर्माण कम्पनीले सीमा क्षेत्रमा कुनै पनि जानकारी नदिई बिष्फोट गराउदाँ सो घटना भएको वडा अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो ।

 पवनसंगै हिडिरहेकी हिक्मतकी छोरी पनि ढुङ्गा लागेर घाइते भएकी छन् । नेपालको दुम्लिङ्देखि माथिल्लो क्षेत्रमा भारतीय पक्षले नेपालतर्फको सीमा क्षेत्रमा नोक्सान हुने गरी सीमा पारि सडक निर्माण गरिरहेको हाम्रा सहकर्मीले जनाएका छन् ।  


प्रतिक्रिया