टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा

रेडियो कान्तिपुर संवाददाता

पुस २२, २०८२ | काठमाडौं

आगामी फेब्रुअरीमा भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुने पुरुष टी–२० विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले आज रोहित पौडेलको कप्तानीमा१५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

विश्वकप क्रिकेट फेब्रुअरी ७ देखि मार्च ८ सम्म आयोजना हुनेछ । क्यानले घोषणा गरेको नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी उपकप्तान छन् भने सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमदले स्थान बनाएका छन् । 

यस्तै सोमपाल कामी, करण केसी, नन्दन यादव, गुलशन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम टोलीमा परेका छन् । नियमित रुपमा टोलीमा पर्दै आएका कुशल मल्ल भने बाहिरिएका छन् । 

नेपालले तेस्रो पटक टी–२० विश्वकप खेल्न लागेको हो । नेपाल रहेको समूहमा इंग्ल्यान्ड, इटाली, वेस्ट इन्डिज र बंगलादेश रहेका छन् ।  


प्रतिक्रिया