पार्टीलाई पुन एकताबद्ध र सुदृढ बनाउने दिशामा अघि बढ्न आह्वान : कांग्रेस सभापति थापा
वैशाख ५, २०८३ | काठमाडौं
कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गगन थापा पक्षलाई मान्यता दिएपछि सभापति थापाले पार्टीलाई पुनः एकताबद्ध र सुदृढ बनाउने दिशामा अघि बढ्न आह्वान गर्नुभएको छ । अदालतको निर्णयलाई उहाँले ’जित–हारको विषय नभई विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय’का रूपमा व्याख्या गर्नुभएको छ ।
सो निर्णयले पार्टीभित्र सबै पक्षलाई एकताबद्ध हुने आधार तयार गरेको उहाँको भनाइ छ । सभापति थापाले पार्टीका सदस्य तथा शुभेच्छुकहरूलाई देशभित्र वा बाहिर जहाँ रहे पनि पार्टीको एकता र पुनर्जागरणका लागि सकारात्मक भूमिका खेल्न आग्रह गर्नुभएको छ ।
साथै, उहाँले पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको उल्लेख गर्दै महाधिवेशनलाई सफल पार्न र पार्टीलाई रूपान्तरण तथा सुदृढीकरण गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताउनुभयो । सर्वोच्च अदालतले हिजो थापा पक्षलाई आधिकारिक कांग्रेसको मान्यता दिएको थियो ।








