हिन्दकुशको बैठक काठमाडौंमा आजदेखि सुरु

भाद्र २, २०८२ | काठमाडौं
हिन्दुकुश हिमालय संसदीय बैठक काठमाडौंमा आजदेखि सुरु हुँदैछ । बिहान साढे ९ बजे सुरु हुने बैठकको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नु हुने छ ।
नेपालको आयोजनामा हुन लागेको बैठकमा भारत, चीन, बङ्गलादेश, भुटान, म्यानमार र पाकिस्तानका संसदीय प्रतिनिधि सहभागी हुनेछन् ।
हिन्दुकुश हिमालय क्षेत्रमा पर्ने मुलुकका सांसदबीच साझा धारणा बनाउन प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आयोजनामा हुन लागेको बैठक भोलिसम्म चल्ने छ ।
बैठकमा सभामुख देवराज घिमिरे, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीलगायतको सहभागिता रहने आयोजकले जनाएको छ ।
हिन्दूकुश हिमालय क्षेत्रका देशहरूमध्ये अफगानिस्तानलाई भने बोलाइएको छैन ।
तालेवान नेतृत्वको सरकारलाई नेपालले मान्यता नदिएका कारण बैठकमा नबोलाइएको बैठकका संयोजक बीरबहादुर बलायरले जानकारी दिनुभयो ।
बैठकमा हिन्दुकुश हिमालय क्षेत्रमा रहेका देशका जनप्रतिनिधि, संसदीय समितिका प्रमुख तथा प्रतिनिधि गरी करिब ३० जना तथा जलवायु परिवर्तन, वायुप्रदूषण र वातावरणका विषयसँग सम्बन्धित विज्ञको सहभागिता रहने बलायरको भनाई छ ।
हिन्दुकुश हिमालय क्षेत्रले सामना गर्नु परेको संकट समाधानका लागि पर्वतीय मुद्दालाई विश्वव्यापी मञ्चमा साझा दृष्टिकोणसहित उठाउन बैठकले सहयोग गर्ने बताइएको छ ।