सवारी दुर्घटनामा दुई युवकको मृत्यु

भाद्र २, २०८२ | काठमाडौं
काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–७, स्पेसल चोकमा भएको सवारी दुर्घटनामा दुई युवकको मृत्यु भएको छ ।
गएराति भएको दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । दुर्घटनामा सिराहा जदहका २९ वर्षीय भोला थापाको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
पहिचान नखुलेको अन्दाजी ३५ वर्षीय पुरुषको पनि सोही समयमा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गोल्फुटारदेखि बुढानिलकण्ठ नारायणस्थानतर्फ जाँदै गरेको स्कुटर र बुढानिलकण्ठदेखि गोल्फुटारतर्फ आउँदै गरेको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्त एसपी अपिलराज बोहराका अनुसार घाइतेमध्ये गोरखा आरुपोखरीका २४ वर्षीय एरिक परियारको मात्र परिचय खुलेको छ ।
घाइतेहरुको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।