ताप्लेजुङ सिदिङवामा पहिरोमा पुरिएका तीन जनाको उद्धार

असार १८, २०८२ | ताप्लेजुङ
ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ आङ्खोपमा पहिरो खस्दा भत्किएको घरभित्रै थुनिएका तीन जनाको उद्धार गरिएको छ । कुलोको पानी थुनिएर पहिरो झर्दा भत्किएको घरभित्र थुनिएका तीन जनालाई स्थानीयले निकालेका हुन् ।
सिदिङवा–३ आङखोपका ६१ वर्षीय हस्तबहादुर कटुवाल उनका श्रीमती ठगमाया कटुवाल र छोरी सम्झना कटुवाल गौतम घरभित्र थुनिएका थिए । हस्तबहादुरका अनुसार गएराति १ बजेतिर घरमाथिको ढिस्को भत्किएर घर पुरेको थियो ।
घर भत्किएपछि छोराबुहारी ब्यूँझिएका थिए । उनीहरुले होहल्ला गरेपछि गाउँले समेत भेला भएर तीनै जनालाई रातिनै बाहिर निकालेका हुन् । भत्किएको घरको दलिन र ढुङ्गाले लागेर ठगमाया घाइते भएको र उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको हस्तबहादुरले बताए ।
हस्तबहादुर र छोरी सम्झनालाई भने सामान्य चोट लागेको छ । बुधबार बिहान सिदिङवा केन्द्र साव्लाखु भन्ज्याङबाट आएका स्वास्थ्यकर्मीले ठगमायाको उपचार गरिरहेका छन् । छिमेकी मौषम लिम्बूका अनुसार पहिरोले घर पुरेपछि उनीहरुको बिचल्ली भएको छ । ताप्लेजुङमा तीन दिनयता ठुलो वर्षा भने भएको छैन ।