नयाँ र वैकल्पिक शक्तिबीच एकताका लागि गृहकार्य अन्तिम चरणमा
पुस ११, २०८२ | काठमाडौं
नयाँ र वैकल्पिक शक्तिबीच आगामी निर्वाचनमा एकता गरेर जाने पहलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीचको छलफल अन्तिम चरणमा पुगेको नेताहरुले बताएका छन् । लामिछाने र शाह पक्षबीच आज छलफल भएपनि सहमति नहुन सकेपछि भोलि थप छलफल गरि सम्झौता गर्ने तयारी भएको बताइएको छ ।
रास्वपाको चुनाव चिन्ह, झन्डा र नेतृत्व स्वीकार्ने गरी बालेन्द्रको पक्ष एकताका लागि तयार भएको छलफलमा सहभागी एक नेताले बताए । आपसी समझदारीका लागि दोस्रो तहका नेताहरुले सहमतिको ड्राफ्ट तयार पारिसकेको बताइएपनि औपचारिक रुपमा पुष्टि हुन सकेको छैन । सहमतिको मस्यौदाका लागि रास्वपाबाट नेता शिशिर खनाल र असिम शाह तथा मेयर शाहको तर्फबाट कुमार बेन र भुपदेव साह संलग्न छन् ।
मेयर शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच भएको छलफलका आधारमा रास्वपासँग पनि सहमतिको प्रयास भइरहेको बताइएको छ । नेताहरुका अनुसार आपसी समझदारीमा चुनावपछि प्रधानमन्त्रीको उम्मेदवार टुंगो लगाउने तथा एकीकृत पार्टीमा नेताको वरीयता, टिकट बाँडफाँट, समानुपातिक सूची लगायतका विषयमा सहमतिको पहल भइरहेको हो ।








