सुशासन र निर्वाचनमै सरकार केन्द्रित रहेको प्रधानमन्त्री कार्कीको भनाई

रेडियो कान्तिपुर संवाददाता

पुस ५, २०८२ | काठमाडौं

प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनको भावनाअनुसार अन्तरिम सरकारले सुशासन र निर्वाचनमै केन्द्रित रहेको दाबी गर्नुभएको छ । उहाँले तोकिएकै समयमा निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन गराउन सरकार दृढ रहेको उल्लेख गर्नुभयो ।

आफ्नो नेतृत्वमा सरकार गठन भएको सय दिन पुगेको अवसरमा एक भिडियो सन्देशमा प्रधानमन्त्री कार्कीले चुनाव सार्ने वा रोक्नेजस्ता हल्ला पूर्णतः निराधार र भ्रमपूर्ण रहेको जिकिर गर्नुभयो । निर्वाचनका लागि सुरक्षाको सवालमा सरकारले कुनै कसर बाँकी नराखेको उहाँको भनाइ थियो ।

यस्तै, उहाँले जेन–जी आन्दोलनका क्रममा लुटिएका १ हजार ३ सय ४२ थानमध्ये अधिकांश हतियार बरामद गरिसकिएको र अन्य ३२ थान हतियार पनि प्रहरीले नियन्त्रणमा लिएको बताउनुभयो ।

एक सय दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तिय सुशासनमा ठोस कदम चालिएको उहाँले दाबी गर्नुभयो । जेनजी आन्दोलनको जगमा सुशिला कार्की नेतृत्वको सरकार गठन भएको सय दिन भएको हो । 


प्रतिक्रिया