खालिदा जियाको अन्त्येष्टि गरिँदै
पुस १६, २०८२ | काठमाडौं
बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको आज अन्त्येष्टि गरिँदै छ ।
कलेजो सम्बन्धी रोगबाट ग्रसीत जियाको हिजो ८० वर्षको उमेरमा निधन भएको थियो ।
जियाको अन्तिम संस्कारका लागि अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुस, सेना प्रमुख वाकर–उज–जमान तथा सरकारका अन्य सल्लाहकारहरु त्यहाँको संसद भवन बाहिर उपस्थित भएका थिए ।
पूर्वप्रधानमन्त्री जियाको ढाकामा अन्तिम संस्कार भइरहेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
जियालाई अन्तिम श्रद्धाञ्जली दिन मनिक मिया एभिन्यु क्षेत्रमा ठूलो संख्यामा सर्वसाधारण, बंगलादेश नेसनलिस्ट पार्टीका नेता कार्यकर्ता समेत उपस्थित भएका छन् ।
जिया सन् १९९१ मा पहिलोपटक प्रधानमन्त्री बन्नुभएको थियो । जियाले त्यहाँको प्रमुख मध्येको एक बंगलादेश नेश्नलिष्ट पार्टीको समेत नेतृत्व गर्दै आउनुभएको थियो ।
यसैबीच नेपालका परराष्ट्रमन्त्री बालानन्द शर्मा पनि बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको अन्त्येष्टिमा सहभागी हुनु भएको छ ।
त्यसका लागि मन्त्री शर्मा हिजो साँझ बंगलादेश पुग्नुभएको थियो ।
यस्तै विभिन्न देशका राष्ट्र प्रमुखले जियाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।











