बंगलादेशमा फेरि किन हिंसात्मक प्रदर्शन ?

रेडियो कान्तिपुर संवाददाता

पुस १०, २०८२

सुनिता लोहनी 

काठमाडौँ । विद्यार्थी आन्दोलनले सत्तापलट भएपछि अस्थिरताको दुश्चक्रमा फसेको दक्षिण एसियाली मुलुक बंगलादेशमा फेरि तनाव उत्पन्न भएको छ । ३२ वर्षीय एक विद्यार्थी नेता मारिएको घटनापछि त्यहाँ हिंसात्मक प्रदर्शन भइरहेका छन् । अन्तरिम सरकारले सन् २०२६ फेब्रुअरी १२ मा निर्वाचनको घोषणा गरेको केही दिनपछि उत्पन्न तनावले बंगलादेशलाई नराम्ररी बिथोलेको छ ।

विद्यार्थी आन्दोलनको बलमा शेख हसिनाको सरकार पतनको १५ महिनापछि बंगलादेशको अन्तरिम सरकारले निर्वाचनको मिति घोषणा गरेको भोलिपल्टै डिसेम्बर १२ मा विद्यार्थी नेता सारीफ ओसमान हादी मारिए । विजोयनगर ढाका – ८ निर्वाचन क्षेत्रबाट उठ्ने तयारी गरेका ३२ वर्षीय हादी चुनाव प्रचारको लागि गइरहेको बेला विद्युतीय रिक्सा रोकेर उनीमाथि मोटरसाइकलमा सवार दुई जनाले गोली हानेका थिए । हादीमाथि बन्दुक चलाउने फैसल करिम मसुद र मतियार अलामगिर शेख रहेको प्रहरीलाई उदृत गर्दै त्यहाँको स्थानीय मिडियाले जनाएका छन् । उनीहरु गोली हानी इण्डियातर्फ फरार भएको दावीसहितका समाचार आएका छन् । सन् २०२४ जुलाईमा विद्यार्थी आन्दोलनमा 'फ्रन्ट लाइन'मा खटेर आन्दोलनको नेतृत्व गरेका हादी इण्डियाको कट्टर आलोचकको रुपमा समेत परिचित थिए । उनको मृत्युपछि गत बिहिबार अर्थात् डिसेम्बर १८ देखि नै उनीहरुले आन्दोलन चर्काएका हुन् । प्रदर्शनकारीले अन्तरिम सरकारका गृहमन्त्री र कानुन मन्त्रीको राजीनामाको माग गरिरहेका छन् । अधिकांश विद्यार्थी, विभिन्न पेसा संगठनमा आबद्ध नागरिक र केही राजनीतिक दलसमेत सडकमा आएका छन् । प्रदर्शनकारीले हादीमाथि गोली चलाउनेलाई गिरफ्तार नगरेसम्म आन्दोलन नरोक्ने चेतावनी दिइसकेका छन् । त्यति मात्र होइन, इण्डियाको समर्थन गर्दै समाचार छापेको भनेर एक सञ्चारमाध्यम प्रोथोम अलोको भवन अगाडि प्रदर्शन गरेका छन् । त्यस्तै, अर्को प्रदर्शनकारीको समूह दी डेली स्टारमा इण्डियाको समर्थन गरेको भन्दै आगलागी गरेका छन् । त्यस बेला सो भवनमा २८ पत्रकार तथा कर्मचारी ४ घण्टासम्म थुनिएका थिए । त्यसपछि प्रदर्शनकारीले चित्तागोङमा रहेको इण्डियाको उच्च आयोगको सहयोगीको भवनमा समेत तोडफोड गरेका थिए । हादीको मृत्युपछि अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले श्रद्धाञ्जलि व्यक्त गर्दै उनको निधन देशको लागि अपूर्णीय क्षति भएको बताए । युनुसले मुलुकको पाइला प्रजातन्त्रतर्फ बढीरहेको बेला डर, आतंक या रक्तपातका कारण रोकिन नहुने समेत बताए । हादीको मृत्युको शोक सकिन नपाउँदै राष्ट्रिय नागरिक पार्टीका अर्का विद्यार्थी नेता मोटालेब सिक्दरको खुलेआम गोली हानी हत्या गरिएको छ । चुनावमा होमिनुपर्ने बंगलादेशमा भइरहेको हिंसात्मक घटनाक्रमलाई लिएर विभिन्न कोणबाट विश्लेषण भइरहेको छ । कतिपयले अहिले सिर्जित परिस्थिति सन् २०२४ मा अगस्ट ५ मा भएको घटनाकै निरन्तरता भएको विश्लेषक प्राडा पुष्प अधिकारी बताउँछन् ।

त्यसो त बंगलादेशमा सन् २०२४ जुलाईमा भएको आन्दोलन सरसर्ती केलाउँदा त्यहाँ विद्यार्थीले सरकारी जागिरको आरक्षण प्रणालीमा बंगलादेशको स्वतन्त्रताको लडाइँमा सहभागि भएका सन्ततिका लागि प्राथमिकता दिएको भन्दै प्रदर्शन चर्किएको थियो । सो प्रदर्शनीमा करिब १ हजार ४ सय प्रदर्शनकारी मारिएका थिए । जसमा २० हजारभन्दा बढी घाइते रहेको त्यहाँको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले उल्लेख गरेको छ । अलजजिराको एक रिपोर्टअनुसार तत्कालीन हसिनाको सरकारले प्रदर्शन दबाउन घातक उपकरण प्रयोग गरेको बताइन्छ । आन्तरिक कलहकै कारण त्यसबेला पनि आन्दोलन भएको र अहिलेपनि भूराजनीति भन्दा पनि आन्तरिक राजनीति नै अहिलेको परिस्थिति बनेको अन्तर्राष्ट्रिय मामिलाका जानकार प्रशान्त विकेको भनाइ छ ।

भूराजनीतिक खेलकाबीच बंगलादेश पूर्णत इस्लामिक मुलुक बन्ने तयारी गरिरहेको कतिपयको विश्लेषण छ । अल्पसंख्यक धार्मिक समुदायमाथि गरिएका आक्रमणलाई लिएर आलोचना भएको छ । गत महिना अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै इण्डियाको नजिक मानेकी निर्वासित प्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ । आन्दोलन भड्केसँगै इण्डियामा निर्वासनमा बसिरहेकी हसिनालाई फिर्ता पठाउन नयाँ दिल्ली मानिरहेको छैन । यसपालिको प्रदर्शनमा उनीहरुको इण्डिया विरोधी नाराहरु झनै मुखरित भएको देखिन्छ । नयाँ दिल्लीले सधैँ बंगलादेशको आन्तरिक मामिलामा दिने गरेको दख्खल, खासगरी निर्वाचनभन्दा अघि हुने गरेको हस्तक्षेप र इण्डियाबाट हसिनाले पठाउने गरेको उत्तेजक अभिव्यक्ति बंगलादेशमा आक्रोश बढाइरहेको हो । युवा नेतृत्वको राष्ट्रिय नागरिक पार्टी, बंगादेश नेशनलिस्ट पार्टी जस्ता पार्टीहरुले हादीका अपराधीहरु इण्डिया भागेको भन्दै मिडियामा बोलिरहँदा यसले पनि त्यहाँ नयाँ दिल्लीप्रति शंका उब्जाएको छ । डिसेप्बर १७ मा बिग्रदो सुरक्षा अवस्था र इण्डियाविरुद्ध हेट स्पीचहरु आउन थालेपछि नयाँ दिल्लीले त्यहाँ अस्थायी रुपमा ढाकामा रहेको भिसा आवेदन केन्द्रको कार्य निलम्बन गरेको छ । नयाँ दिल्लीस्थित बंगलादेशको उच्च आयुक्त मुहम्मद रिआज हामीदुल्लाहलाई बोलाएर ढाकामा इण्डियन उच्च आयोगसामु गरिएको प्रदर्शन र बंगलादेशी राजनीतिक नेताहरुले इण्डियाविरुद्ध दिएका अभिव्यक्तिलाई लिएर इण्डियाले कूटनीतिक विरोध गरेको छ । छिमेकी मुलुक बंगलादेशमा भइरहेको हिंसात्मक आन्दोलनको बाछिटा अन्य देशमा पनि पर्न सक्ने विश्लेषक प्राडा अधिकारीको भनाइ छ ।

बंगलादेशमा भइरहेको आन्दोलनलाई कतिपय इण्डियन विश्लेषकले पपुलिस्ट राजनीतिक प्रदर्शनको नाम दिएका छन् । स्वतन्त्र प्रेस माथिको आक्रमण, भीडले गरेको कुटपीट, धार्मिक अल्पसंख्यकमाथिको ज्यादती वा हादीको मृत्यु मात्र आन्दोलनको कारण नभएको उनीहरुको भनाइ छ । आगामी फेब्रुअरीका लागि निर्धारित निर्वाचन नजिकिदै गर्दा बंगलादेशमा भइरहेको हिंसात्मक परिस्थितिले थप अन्योल र आशंका बढाएको हो । 


प्रतिक्रिया