उपसभामुखलाई हटाउने सत्ता साझेदार दलको तयारीप्रति विपक्षी दलको चर्को विरोध

भाद्र ४, २०८२ | काठमाडौं
उपसभामुख इन्दिरा राना मगरलाई हटाउने नेपाली कांग्रेस र एमालेको तयारीप्रति विपक्षी दलहरुले चर्को विरोध जनाएका छन् । उपसभामुख पदको अवमूल्यन गर्ने गरी पदबाट हटाउन खोजिएको उनीहरुको भनाइ छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले सत्तारुढ कांग्रेस र एमालेले उपसभामुख पदको अवमूल्यन गरेको आरोप लगाउनुभयो । सत्तारुढ दलले सिंहदरबार र बालुवाटारमा प्रहसन देखाएको उहाँको भनाइ थियो । रास्वपालाई निषेध गर्न खोजिएको र उपसभामुखलाई समेत हटाउन लागिएको परियारले उल्लेख गर्नुभयो ।
विपक्षी माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादीले पनि उपसभामुखलाई हटाउन लागिएको भन्दै आपत्ति जनाएका छन् । माओवादी केन्द्रका सांसद शक्तिवहादुर बस्नेतले विदेशमा भएका बेला उपसभामुख रानाविरुद्ध हस्ताक्षर संकलन गरिएको भन्दै असन्तुष्टी जनाउनुभयो । एकीकृत समाजवादीका सांसद शेरवहादुर कुँवरले एमाले र कंग्रेस मिलेर उपसभामुखलाई हटाउन खोज्नु संसदको उपहास भएको टिप्पणी गर्नुभयो ।
राप्रपाकी सांसद रोशन कार्कीले खाली कागजमा हस्ताक्षर गराएर उपसभामुखलाई हटाउन खोजिएको भन्दै आपत्ति जनाउनुभयो । संवैधानिक परिषद्मा बहुमत पु¥याउन उपसभामुखलाई पदमुक्त गर्न खोजिएको उहाँको भनाइ थियो । सांसद कार्कीको अभिव्यक्तिप्रति एमाले सांसद सुर्य थापाले विरोध जनाउनुभयो । सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने थापाको भनाइ थियो । विपक्षी रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणलाई लिएर जारी राखेको बैठक बहिष्कारलाई आज पनि निरन्तरता दिएका थिए ।