उपसभामुख इन्दिरा रानालाई हटाउने सत्तारुढ दलको तयारी

भाद्र ३, २०८२ | काठमाडौं

सत्तासाझेदार दल नेपाली कांग्रेस र एमालेले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेका छन् ।

 नेपाली कांग्रेस र एमालेका नेताहरुबीच पद अनुसार आचरण नगरेको भन्दै उपसभामुख रानालाई हटाउने समझदारी जुटेपछि हस्ताक्षर संकलन शुरु गरिएको छ । रानालाई पदबाट हटाउने गृहकार्य स्वरुप हस्ताक्षर संकलन गरेपनि तत्काल प्रस्ताव नलैजाने रणनीति ती दलले बनाएका छन् । 

कांग्रेसका संस्थापन इतर पक्षका सांसदहरुले हस्ताक्षर गर्न नमानेपछि प्रस्ताव तत्काल अघि नबढाइने भएको हो । रानाविरुद्ध प्रस्ताव तत्कालै नराखिने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

दुई दलले सत्ता गठबन्धनका अन्य दलको समर्थनसहित उपसभामुख रानालाई हटाउन खोजेपनि कांग्रेस नेता शेखर कोइराला पक्षधर सांसदहरुले हस्ताक्षर गर्न अस्वीकार गरेपछि अप्ठ्यारो स्थिति बनेको बताइएको छ । कंग्रेस र एमालेले संसदीय दलको कार्यालयमा सांसदहरुलाई बोलाएर हस्ताक्षर संकलन शुरु गरेपनि कोइराला पक्षका सांसदहरु सहभागी भएका थिएनन् ।  

यसैबीच कांग्रेस नेता शेखर कोइरालाले कांग्रेस–एमालेले अघि सारेको उपसभामुखलाई हटाउने प्रस्ताव ‘बेमौसमी बाजा’ भएको टिप्पणी गर्नुभएको छ । कान्तिपुरलाई प्रतिक्रिया दिदै कोइरालाले दुई दलले उपभामुख रानालाई हटाउन गरेको हतारोबारे आफूलाई थाहा नभएको र आफ्नो पूर्ववत अडान कायम रहेको बताउनुभयो । 


प्रतिक्रिया