नेपालमा रुबेला रोग निवारण भएको डब्लूएचओको घोषणा

भाद्र ३, २०८२ | काठमाडौं

नेपालमा रुबेला रोग निवारण भएको विश्व स्वास्थ्य संगठनले घोषणा गरेको छ ।

 जर्मन दादुराका रुपमा समेत चिनिने रुबेला अत्यधिक संक्रामक मानिन्छ । यो भाइरलको संक्रमण पश्चात गर्भपतन हुने, मृत बच्चा जन्मने तथा शरीर कमजोर हुने जस्ता स्वास्थ्य समस्या देखा पर्दै आएका छन् । यस्तो संक्रमणबाट जोगाउन नेपालले ठोस प्रयास गरेको विश्व स्वास्थ्य संगठनको भनाइ छ ।

 योसँंगै दक्षिण–पूर्वी एशियामा रुबेला निवारण हासिल गर्ने नेपाल छैटौं मुलुक हो । राष्ट्रिय खोप कार्यक्रमको सफलताका रुपमा समेत यसलाई लिइएको छ । नेपालले सन् २०१२ मा रुबेला विरुद्धको खोप सुरु गरेको थियो ।

 सन् २०१६ मा नियमित खोप तालिकामा रुबेला विरुद्धको खोपको दोस्रो मात्रा थपिएको थियो । त्यसपछिका प्रत्येक ४ वर्षमा निरन्तर खोप अभियान चलाइएको थियो । सोही क्रममा ९ महिना देखि १५ वर्षसम्म व्यक्तिमा रुबेलाको विरुद्धको खोप लगाउने अनुपात कम्तीमा ९५ प्रतिशत रहेको जनाइएको छ ।


प्रतिक्रिया