कक्षा १२ को परीक्षा स्थगित

वैशाख ९, २०८२
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न बोर्डलाई निर्देशन दिएसँगै बोर्डको बैठकले सो निर्णय गरेको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिनुभयो । बोर्डले यही बैशाख २१ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको पनि उहाँले बताउनुभयो ।
प्रधानमन्त्री आृलीले बालुवाटार पुगेका बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई परीक्षा केही दिन सार्न आग्रह गर्नुभएको थियो । बोर्डले कक्षा १२ को परीक्षा यही बैशाख ११ गतेदेखि गर्ने तय गरेको थियो । बोर्डको आजै बिहान बसेको बैठकले कक्षा १२ को परीक्षा तालिका नसर्ने निर्णय पनि गरेको थियो । निजामती कर्मचारीलाई परिचालन गरेर परीक्षा सञ्चालन गर्ने बोर्डले निर्णय गरेपछि सर्वत्र आलोचना भएको थियो । नेपाल शिक्षक महासंघले काठमाण्डौं केन्द्रीत आन्दोलनलाई थप सशक्त बनाउने संकेत गरेपछि प्रधानमन्त्री ओलीले बोर्डलाई परीक्षा सार्न आग्रह गर्नु भएको थियो ।