रुसी सेनाद्धारा युक्रेनको ऊर्जा प्रणाली भएको ओडेसामा बमबारी
मंसिर २८, २०८२
काठमाडौँ । रुसी सेनाले युक्रेनको दक्षिणी बन्दरगाह शहर ओडेसा र वरपरको क्षेत्रमा गएराती बमबारी गरेको छ ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमा ४ सय ५० भन्दा बढी ड्रोन र ३० मिसाइल आक्रमण गरेको बताउनुभएको हो । उहाँले रुसले युक्रेनको ऊर्जा प्रणाली रहेको दक्षिणी ओडेसा क्षेत्रमा आक्रमण गरेको टेलिग्राम मार्फत् जानकारी दिनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ । रुसी आक्रमणपछि युक्रेनका सात क्षेत्रका लाखौँ परिवारले बिजुली र खानेपानी आपूर्तिबाट बञ्चित भएका छन् ।
प्रधानमन्त्री युलिया स्विरिडेन्कोले ओडेसामा भएको हमला सन् २०२२ मा युद्ध सुरु गरेयता अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण भएको दाबी गर्नुभएको छ । यसैबीच, रुसले युक्रेनमा लगातार आक्रमण गरिरहँदा अमेरिकाको मध्यस्थतामा हुने भनिएको रुस–युक्रेन युद्ध अन्त्य हुनेमा संशय पैदा भएको छ ।









