अष्ट्रेलियामा १६ वर्ष मुनिका किशोर किशोरीका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

रेडियो कान्तिपुर संवाददाता

मंसिर २४, २०८२

काठमाडौँ । अष्ट्रेलियामा १६ वर्ष मुनिका किशोर किशोरी लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कानुन लागु भएको छ । 

प्रतिबन्ध लागु भएसँगै प्रधानमन्त्री एन्थोनी अल्बानीले यो आफ्नो लागि गर्वको दिन भएको बताउनुभएको छ । यस्तो खालको प्रतिबन्ध विश्वमै पहिलो पटक कार्यान्वयनमा आएको हो । 

अष्ट्रेलियाको सरकारले त्यहाँ इन्टाग्राम, फेसबुक, थ्रेड, एक्स, स्न्याप च्याट, किक, ट्वीच, टिकटक, रेडिट र युट्युवलगायत एप बन्द गरेको हो । नयाँ कानुनले ती एपहरु १६ वर्ष मुनिका बालबालिकाले प्रयोग गर्न नपाउने व्यवस्था गरेको छ । यस्तै, प्रतिबन्ध तोडेमा अभिभावक र बालबालिकालाई दण्डित गरिने छैन । यद्यपि, सामाजिक सञ्जाल कम्पनीहरूले उल्लंघन गरेको पाइएमा  ३२ मिलियन अमेरिकी डलरसम्मको जरिवाना तिर्नुपर्ने बीबीसीले जनाएको छ । सरकार प्रतिबन्धको उद्देश्य किशोर किशोरीलाई हानिकारक सामग्रीबाट बचाउनु रहेको बताउँदै आएको छ । तर आलोचकहरूले भने यसले उनीहरुलाई इन्टरनेटको निगरानी नगरेका साइटहरु प्रयोग गर्नतर्फ धकेल्ने चेतावनी दिँदै आएको छ । यता अष्ट्रेलियाका किशोर किशोरीले सरकारको सो प्रतिबन्धप्रति मिश्रित प्रतिक्रिया दिएका छन् । 


प्रतिक्रिया