विद्रोही समूह हमासद्धारा गाजा क्षेत्रमा युद्धविराम गर्ने प्रस्तावमा सहमति

भाद्र ३, २०८२
गाजामा युद्धविरामको लागि राखिएको पछिल्लो प्रस्तावलाई प्यालेस्टाइनको विद्रोही समूह हमासले सहमति जनाएका छन् । इजिप्ट र कतारले अघि सारेको ढाँचामा आधारित पछिल्लो प्रस्तावमा हमासले सहमति जनाएको हो । सो प्रस्तावमा गाजामा युद्धविराम र इजरायली बन्धक रिहा गर्ने सम्झौता उल्लेख गरिएको थियो । त्यसलाई गत जुन महिनामा अमेरिकी राजदूत स्टीभ विटकोफले युद्धविराम सम्झौताको रुपमा अघि सारेको बीबीसीले जनाएको छ । सम्झौताअनुसार हमासले ५० बाँकी इजरायली बन्धकमध्ये आधालाई मुक्त गर्नुपर्नेछ ।जसमा २० जना जीवित रहेको विश्वास गरिन्छ । यही सम्झौतामा स्थायी युद्धविरामका लागि पनि वार्ता हुने उल्लेख छ । यस विषयमा इजरायलको कुनै प्रतिक्रिया दिएको छैन । गत साता इजरायली प्रधानमन्त्रीको कार्यालयले हमासले सबै बन्धकहरू एक पटकमा रिहा गरे मात्र युद्धविराम सम्भव भएको बताएको थियो ।