बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

जेष्ठ २२, २०८२ | मकवानपुर

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । बुधबार बसेको प्रदेश सभा बैठकमा सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्दा नीति तथा कार्यक्रम बहुमतले स्वीकृत भएको हो ।

त्यसअघि बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सदनमा उठेका प्रश्नको जवाफ दिनु भएको थियो । सरकारले ल्याएको नीति तथा कार्यक्रम निकै उत्कृष्ट भएको उहाँले दाबी गर्नुभयो ।

मुख्यमन्त्री लामाले चालू खर्च घटाउन सबै एकजुट हुनुपर्ने भन्दै अनावश्यक संरचनाहरु नबढाउनुका साथै दिगो कार्यक्रमहरु आवश्यक भएको बताउनुभयो । अध्यवद्यिक योजनाहरु कति हुन्छ भन्ने कुराको मूल्यांकन गर्नुपर्ने र प्रदेश सरकारले गरेको लगानीहरु के–के भईरहेका छन् भन्ने कुराको पनि समीक्षा गर्नुपर्ने उहाँको भनाई छ । 

मुख्यमन्त्री लामाले प्रदेश सरकार निजी क्षेत्रसँग पनि सहकार्य गरेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । सदनमा भ्रष्टाचारको कुरा धेरै उठेको भन्दै नियन्त्रण गर्न कस्को कति सम्पत्ति छ विधि बनाएर डेटा तयार पार्न सबैलाई आग्रह गर्नुभयो ।

प्रदेशमा साना योजनाको चाङ लागेको भन्दै उहाँले ठूला गौरवका योजना दिगो हुने गरी प्राथमिकता दिएको बताउनुभयो । लामाले अर्थतन्त्र चलायमान गर्नका लागि लोकप्रिय मात्रै नभई दिगो विकास हुने कार्यक्रममा जोड दिएको दाबी गर्नुभयो ।

यसअघि १४ जेठमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रस्तुत भएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सोमबार, मंगलवार र बुधवार समेत सांसदहरूले आ–आफ्नो धारणा राखेका थिए ।

बागमती प्रदेश सभाको बैठक यहि जेठ ३० गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ । 


प्रतिक्रिया