चिकित्सकलाई कागजातमा आफ्ना सबै विवरण खुलाउन निर्देशन

वैशाख १७, २०८२ | काठमाडौं
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचारमा संलग्न सबै सरकारी चिकित्सकलाई कागजातमा आफ्ना सबै विवरण खुलाउन निर्देशन जारी गरेको छ ।
मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै संघीय अस्पताल तथा प्रतिष्ठानलाई आज पत्राचार गर्दै अस्पतालमा उपचारका लागि आउने बिरामीको रिपोर्टमा चिकित्सकको विवरण खुलाउन भनेको हो ।
निर्देशनानुसार आवश्यकता अनुसारको रेडियोलोजी, प्रयोगशाला र अन्य परीक्षणमा सिफारिस गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीको पूरा नाम, विशेषज्ञता, काउन्सिल दर्ता नम्बर तथा सही छाप बिरामी रिपोर्टमा खुलाउनपर्ने छ ।
निर्देशनले बिरामीको उपचार तथा पुनःपरीक्षणमा सहजता ल्याउने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताउनुभयो ।
उहाँका अनुसार यस व्यवस्थाले अनावश्यक परीक्षण रोक्न तथा परीक्षण सम्भव हुँदाहुँदै अस्पताल बाहिर पठाउने (रिफर) रोक्ने अपेक्षा गरिएको छ । चिकित्सकीय विवरण अनिवार्य गरिँदा त्यसले चिकित्सकलाई थप जिम्मेवार र जवाफदेही बनाउन समेत मद्दत मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।