हिमाली क्षेत्रमा भेटियो डेंगी सार्ने लामखुट्टे
भाद्र १०, २०८० | दार्चुला
हिमाली क्षेत्रमा पर्ने दार्चुलाको ब्यास गाउँपालिकाको सुन्सेरा क्षेत्रमा डेंगी सार्ने लामखुट्टे भेटिएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको किटजन्य रोग नियन्त्रणले गरेको एक अनुसन्धानबाट डेंगी सार्ने लामखुट्टे भेटिएको हो ।
गत साउन १५ र १६ गते सुन्सेरा क्षेत्रमा पुगेर खोज अनुसन्धान गर्दा सो क्षेत्रमा डेंगी संक्रममण फैलाउने लामखुट्टे भेटिएको स्वास्थ्य कार्यालयका खोपसुपर भाईजर बिरेन्द्र भट्टले बताउनुभयो । फेला परेको लामखुट्टेको परीक्षण महेन्द्रनगरको इन्टोमलोजी ल्याबमा भइरहेको भट्टले बताउनुभयो ।
तराईका क्षेत्रमा बढी हुने डेंगी संक्रमण पछिल्लो समय पहाड र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ । ब्यासमा मात्रै २० जनामा डेंगु संक्रमण देखिएको उहाँको भनाई छ । जिल्लामा गत पुष यता हालसम्म १ सय ९० जनामा डेंगी संक्रमण देखिएको छ ।









