नेपाल 'ए' टीमद्वारा ओमान पराजित

रेडियो कान्तिपुर संवाददाता

वैशाख ११, २०८३ | काठमाडौं

नेपाल ‘ए’ टीमले दोस्रो अभ्यास खेलमा ओमानलाई पराजित गरेको छ । ब्याटिङ र बलिङमा विपक्षीलाई खासै मौका नदिएको नेपाल ‘ए’ ले मूलपानीको माथिल्लो क्रिकेट मैदानमा ओमानको राष्ट्रिय टोलीलाई १ सय १५ रनले हराएको हो ।

टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २ सय ८४ रन बनायो । नेपालबाट देव खनालले ९५ बलमा ५ चौका प्रहार गरि ६४, प्लेयर अफ द म्याच इशान पाण्डेले ७८ बल खेली ६ चौकासहित ६९ र कुशल मल्लले ३२ बल खेली समान ४ चौका र छक्कासहित ५७ रन बनाए । जवाफमा आएको ओमान ३६ दशमलव ३ ओभरमा १ सय ६९ रनमै अलआउट भयो ।

नेपालबाट युवराज खत्रीले ३ विकेट लिए । जितसँगै नेपाल ‘ए’ ले दुई म्याचको शृंखला १–१ को बराबरीमा टुंग्याएको छ । ओमानले पहिलो खेलमा नेपाल ‘ए’ लाई ७० रनले पराजित गरेको थियो ।


प्रतिक्रिया