साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले बंगलादेशसँग खेल्दै

असार २९, २०८२ | काठमाडौं
नेपालले साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको आफ्नो दोस्रो खेलमा आज साविक विजेता बंगलादेशको सामना गर्दैछ । खेल बंगलादेशको बसुन्धरा किङ्स एरेनामा नेपाली समय अनुसार साँझ पौने ७ बजे सुरु हुनेछ ।
आजको खेलपछि उपाधिको यात्रा निर्धारण गर्नेछ । नेपाल लगातार दोस्रो जितको लक्ष्यमा छ । यसअघि आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई ६–१ गोल अन्तरले हराएको थियो । सो खेलमा पूर्णिमा राईले ह्याट्रिकसहित चार तथा सेनु परियारले दुई गोल गरिन् ।
भुटानविरुद्ध जितका बाबजुद बिर्सना चौधरीको कप्तानीमा रहेको नेपाली डिफेन्समा कमजोरी देखिएको थियो । जुन गल्ती बंगलादेशविरुद्ध दोहोरिए उपाधि यात्रामा बाधक बन्न सक्छ ।
यस पटक पनि नेपालले आफ्नो मुख्य प्रतिद्वन्द्वी बंगलादेशलाई नै मानेको छ । नेपाल साविक विजेता बंगलादेशलाई हराएर अघिल्लो संस्करणको फाइनलमा भोगेको हारको बदला लिँदै दाबेदारी बलियो बनाउने लक्ष्यमा हुनेछ ।
त्यस्तै, आयोजक बंगलादेशले पनि पहिलो खेलमा श्रीलंकामाथि ९–१ को फराकिलो जित निकालेको थियो । पछिल्लो समय बंगलादेशले सिनियरदेखि उमेर समूहमा उल्लेख्य प्रगति गर्दै आएको छ ।
प्रतियोगितामा नेपाल र बंगलादेशले समान ३ अंक जोडेपनि गोल अन्तरमा बंगलादेश अगाडि छ । चार टोली सहभागी च्याम्पियनसिप डबल राउण्ड रोबिन फम्र्याटमा खेलाइएको छ । प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली सिधै च्याम्पियन बन्नेछ । नेपालले आफ्नो तेस्रो खेलमा ३१ गते श्रीलंकाको सामना गर्नेछ ।