मार्टिन जुबिमेन्डी आर्सनलमा अनुबन्धित

असार २३, २०८२ | काठमाडौं
इंग्लिस क्लब आर्सनलले स्पेनिस मिडफिल्डर मार्टिन जुबिमेन्डीलाई अनुबन्ध गरेको छ । जुबिमेन्डीलाई रियल सोसिडाडबाट अनुबन्धित गरेको आर्सनलले जानकारी दिएको हो ।
उनको सरुवा रकम ७ करोड ५० लाख डलर भएको बताइएको छ । स्पेनबाट युरो २०२४ को उपाधि जितेका जुबिमेन्डीलाई यसअघि लिभरपुल र रियल म्याड्रिडले पनि लिन तत्परता देखाइरहेका थिए ।
आर्सनलसँगको अनुबन्धसँगै उनले यो आफ्नो खेल जीवनका लागि निकै ठूलो क्षण भएको प्रतिक्रिया दिएका छन् । उनले आर्सनलसँग पाँच वर्षे सम्झौतामा हस्ताक्षर गरेको बीबीसीले उल्लेख गरेको छ ।
रियल सोसिडाडले उनका लागि तोकेको रकमभन्दा बढीमा आर्सनलले जुबिमेन्डीलाई लिएको बताइएको छ । २६ वर्षे जुबिमेन्डी सोसिडाडको एकेडेमीबाट अगाडि आएका खेलाडी हुन् र उनले यो क्लबका लागि २ सय ३६ म्याच खेलिसकेका छन् ।
उनले स्पेनको राष्ट्रिय टोलीबाट पनि १९ पटक खेलिसकेका छन् । थोमस पार्टेय र जोर्गिन्हो क्लब छाडेर गएकाले आर्सनलको मिडफिल्डमा जुबिमेन्डीले ठूलो प्रभाव पार्ने विश्वास व्यवस्थापक मिकेल आर्टेटाको छ ।