शैक्षिक गतिविधि सञ्चालन गर्न मेयर्स फोरमको आग्रह
वैशाख १०, २०८३ | काठमाडौं
काठमाण्डौ उपत्यका मेयर्स फोरमले काठमाण्डौ उपत्यकाभित्रका सबै पालिकाहरुलाई बैशाख १५ गते मंगलबारदेखि शैक्षिक गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ ।
फोरमको हिजो बसेको बैठकले भोलिदेखि नयाँ विद्यार्थी भर्ना अभियान शुरु गर्न र आगामी मंगलबारदेखि नियमित पठनपाठन सञ्चालन गर्न अनुरोध गरेको हो ।
काठमाण्डौ उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरीबाबु महर्जनले निर्णय कार्यान्वयनका लागि सबै पालिकालाई अनुरोध गर्नुभएको छ ।
यसअघि सङ्घीय सरकारले शैक्षिक सत्र २०८३ को भर्ना अभियान वैशाख १५ गतेदेखि र पठनपाठन २१ गतेदेखि शुरु गर्न भनेको थियो ।
शिक्षा नियमावली २०५९ अनुसार शैक्षिक सत्र वैशाख १ गतेदेखि नै शुरु हुने व्यवस्था रहेको भन्दै सबै पालिकाहरूले आ–आफ्नो शैक्षिक क्यालेण्डर अनुसार विद्यालय सञ्चालन गर्दै आएको फोरमले जनाएको छ ।
इन्धन सङ्कटलाई समेत ध्यानमा राख्दै विद्युतीय गाडीको प्रयोग बढाउन र आवश्यक परे अनलाइन कक्षा तथा वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गर्न पनि फोरमले आग्रह गरेको छ ।









