लमजुङ कारागारको मुख्य गेट भत्कियो

असार ३२, २०८२ | लमजुङ
लमजुङ सदरमुकाम बेसीसहरमा रहेको जिल्ला कारागारको मुख्य गेट भत्किएको छ । कारागारको पश्चिमतिर रहेको कैदी र थुनुवा प्रवेश गर्ने एकमात्र ढोका भत्किएको हो ।
करागार प्रशासक बेनीबहादुर मुक्तानका अनुसार पानी परिरहेको बेला बुधबार अपरान्ह पौने ५ बजेतिर पर्खाल भत्किएको हो । मुक्तानका अनुसार अनुसार करिव ३ मिटर पर्खाल भत्किएको छ ।
पर्खाल भित्रबाट बाहिरतर्फ भत्किएका कारण कुनैपनि मानविय क्षति भएको छैन । सो कारगारमा हाल ६ महिलासहित १ सय ८ जना कैदी र थुनुवा छन् ।
प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेलका अनुसार जीर्ण पर्खाल भीषण पानी पर्दा भत्किएको हो ।
कारागारको पर्खाल भत्किएपछि नेपाल प्रहरी र शसस्त्र प्रहरी थप परिचालन गरिएको प्रशासनले जनाएको छ । नेपाली सेना पनि कारागार सुरक्षार्थ परिचालनको लागि समन्वय भैरहेको प्रशासनले जनाएको छ ।