तिलोत्तमालाई डिप्लोमा इन फार्मेसी र पीसीएल नर्सिङ सञ्चालन गर्न अनुमति

असार २८, २०८२ | तिलोत्तमा
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) ले रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङ कार्यक्रम सञ्चालनका लागि पूर्वाधार निर्माण गर्न अनुमति दिएको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा पालिकाको गुरुयोजनाको रुपमा राखेको सिटी कलेजको पूर्वाधार निर्माण गर्न २५ लाख बजेट विनियोजन गरिसकेको छ । सीटीइभीटीले तिलोत्तमा नगरपालिका आफैंले सञ्चालन गर्नेगरी डिप्लोमा इन फार्मेसी र पीसीएल नर्सिङ कार्यक्रमका लागि ४०÷४० जनाको कोटा समेत निर्धारण गरेको छ ।
सीटीइभीटीको पत्र प्राप्त भएसँगै अब पूर्वाधार निर्माण र अस्पतालसँग सम्झौता गरेर कार्यक्रम सञ्चालन प्रक्रिया अघि बढाइने नगरपालिकाले जनाएको छ । पालिकाले बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल अर्थात भैरहवाको भीम अस्पतालसँग सम्झौता गरिने जनाएको छ ।
तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटमै प्राविधिक शिक्षालय सञ्चालनका लागि नीति गत रुपमा निर्णय गर्दै रकम विनियोजन गरेको बताउनुभयो । नगर प्रमुख खाँणले सबैको प्रयत्नले प्राविधिक शिक्षालय सञ्चालनको विषयले सार्थकता पाउनु गौरवको विषय भएको बताउनुभयो ।
सीटीइभीटीको असार १७ गते बसेको २०९ औं बैठकले तिलोत्तमालाई पूर्वाधार निर्माणको लागि मनसाय पत्र दिइ आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । सोही अनुसार सीटीइभीटीले नगरपालिकालाई पत्र पठाउँदै पूर्वाधार निर्माण प्रक्रिया अघि बढाउन अनुमति दिएको हो । प्राविधिक शिक्षालय सञ्चालन गर्न तिलोत्तमा नगरपालिकाले २०७७ सालमै वडा नं. १४ को खैरियामा भवन निर्माण गरिसकेकोमा त्यसमा फार्मेसी र नर्सिङ कार्यक्रम सञ्चालनका लागि थप पूर्वाधार बनाउनु पर्नेछ ।
नगरपालिकाको ३ करोड ७७ लाख लगानीमा निर्माण गरेको भवन लामो समय प्रयोगविहीन हुँदा चर्को आलोचना हुँदै आएको थियो । साविकको नर्मदेश्वर आधारभूत विद्यालय रहेको स्थानमा एक वर्षको अवधिमा नगरपालिकाले सुविधा सम्पन्न ३ तले भवन निर्माण गरेको हो ।