रामेछापको दोरम्बा शैलुङ ३ चिहाने खोलामा पहिरो जाँदा घरमा क्षति

असार ९, २०८२ | दोलखा
रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको चिहाने खोला भन्ने स्थानमा पहिरो जाँदा १ घर क्षतिग्रस्त भएको छ ।
अन्य ५ घर जोखिममा परेका छन् । गएराति खसेको पहिरोले स्थानीय झगरसिंह बसेलको घर पूर्ण रुपमा क्षति भएको शैलुङ–३ का वडा अध्यक्ष सन्तलाल मगरले बताउनुभयो । स्थानीय हरिकृष्ण बसेल, बुद्विमान बसेल, चिना बसेलसहितको घर पहिरोको उच्च जोखिममा रहेकोले उनीहरुलाई तत्काल सार्नुपर्ने अवस्था रहेको वडा अध्यक्ष मगरले बताउनुभयो ।
पहिरो जोखिममा परेका घर सुरक्षित सार्ने तयारी थालिएको दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तानले बताउनुभयो । वर्षा जारी रहेकाले जोखिमयुक्त बस्तीका स्थानीयलाई सुरक्षित रहन गाउँपालिकाले आग्रह छ । गत वर्षको भदौमा सोही वडाको लेखर्कमा पहिरोमा परि १० जनाले ज्यान गुमाएका थिए ।