साइबर सुरक्षा विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरिँदै

असार २९, २०८२ | काठमाडौं
सरकारले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक’ प्रतिनिधिसभामा प्रस्तुत गर्ने तयारी गरेको छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ ।
बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ ।
प्रविधिको प्रयोग र पहुँच बढ्दै गएसँगै साइबर सुरक्षाका घटना रोकथाम गर्न, साइबर सुरक्षाका घटना सम्बन्धी प्रतिक्रियात्मक काम गर्न तथा अनुसन्धान गर्न सरकारले यो विधेयक ल्याएको हो । संवेदनशील सूचना, पूर्वाधारका धनी तथा साइबर सुरक्षा सेवा प्रदायकलाई नियमन तथा व्यवस्थित गर्न विधेयक तयार गरिएको सरकारले जनाएको छ ।
यस्तै, बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक २०८२’ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले जानकारी दिनुभयो ।
त्यस्तै कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।