सदस्य राष्ट्रलाई निलम्बन वा निष्कासन गर्ने कुनै प्रावधान छैन : नेटो

रेडियो कान्तिपुर संवाददाता

वैशाख ११, २०८३ | काठमाडौं

नेटोले आफ्ना सदस्य राष्ट्रलाई निलम्बन वा निष्कासन गर्ने कुनै प्रावधान नभएको स्पष्ट पारेको छ । अमेरिकाले स्पेनलाई इरान युद्धसम्बन्धी अडानका कारण निलम्बन गर्न सक्ने चर्चाकाबीच नेटोको यस्तो प्रतिक्रिया आएको हो । अमेरिकी अधिकारीले पेन्टागनको इमेलमा केही सहयोगी राष्ट्रहरुलाई सजाय दिने उपायबारे सुझाव दिइएकोे रोयटर्सलाई उदृत गर्दै बीबीसीले जनाएको छ । 

सो इमेलमा अमेरिका असन्तुष्ट रहेका देशहरुविरुद्ध केही कदम चाल्न सकिने उल्लेख गरिएको थियो।सन्धिमा सदस्यता निलम्बन वा निष्कासन गर्ने कुनै प्रावधान नभएको बीबीसीले उल्लेख गरेको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले इमेललाई भन्दा पनि अमेरिकी सरकारको आधिकारीक धारणालाई आधार मान्ने बताउनुभएको छ । 

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने नेटो सदस्य राष्ट्रले पर्याप्त सहयोग नगरेको भन्दै आलोचना गर्दै आउनुभएको छ । अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि र इरानले हर्मुज जलमार्गमा जहाज आवतजावतमा प्रतिबन्ध लगाएपछि तनाव बढेको हो। 

स्पेनले आफ्नो भूमिमा रहेका अमेरिकी सैन्य आधार शिविरबाट इरानमाथि आक्रमण गर्न अनुमति नदिएको बताइएको छ। यता बेलायतका प्रधानमन्त्री केयर स्टार्मरले युद्धमा थप संलग्नता आफ्नो देशको हितमा नभएको बताएपनि केही अमेरिकी कारवाहीमा सहयोग गरेको बताइन्छ । 


प्रतिक्रिया