सुवर्ण लिम्बुलाई रेडियो कान्तिपुरको सम्मान

चैत्र ३०, २०८१ | काठमाडौं
वरिष्ठ संगीतकार एवं बेस गिटारिस्ट सुवर्ण लिम्बुलाई रेडियो कान्तिपुरले सलाम ज्यूँदो इतिहासलाई कार्यक्रमको नयाँ अंकमा शनिबार सम्मान गरेको छ । जीवनको ५ दशक अनवरत रुपमा नेपाली सुगम संगीतको उत्थान र प्रवद्र्धनमा लागि परेको भन्दै लिम्बुलाई रेडियोले सम्मान गरेको हो ।
रेडियो कान्तिपुरको प्राङ्गण तीनकुनेमा आयोजित कार्यक्रममा स्टेशन म्यानेजर पवन आचार्यले लिम्बुलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरे । पुराना स्रष्टालाई जीवन छँदै सम्मान गर्ने परम्पराको थालनीको रुपमा सलाम ज्यूँदो इतिहास कार्यक्रम रहेको आचार्यले बताए ।
सन् १९७० मा पहिलोपटक रेडियो नेपालमा गोपाल योञ्जनको संगीत र ईन्दिरा मास्केको स्वरमा रहेको गीतमा गिटार बजाएर साँगीतिक यात्रा शुरु गरेका लिम्बु त्यसपछि बेस गिटार वादनमा कहिलए । हुन पनि त्यतिबेला बेस गिटार हुने उनी एक्ला संगीतकार र वाद्यबाधक थिए ।
उनको पहिलो रेकर्डेड गीत भने पवन गोलेको स्वर र शिवशंकर थापाको शब्द रहेको हावासँग बगु भन्छ भन्ने हो । ४० को दशकमा रेकर्ड भएको सोही गीतबाट उनी एकाएक चर्चामा रहे । हजारौं गीतमा बेस गिटार बजाएका लिम्बुले नारायण गोपाल र गोपाल योञ्जनदेखि ओमविक्रम बिष्ट र सुनिल उप्रेतीसम्मका गीत कम्पोज गरेका छन् । आप्mना पुराना गीतहरु आर्काइभमा नरहेको भन्दै लिम्बु अहिले तिनलाई पुनः रेकर्ड गर्ने काममा पनि लागेका छन् ।
हङकङमा जन्मिएका सुवर्ण ब्रिटिश लाहूरे पिताले गिटार किनि दिएपछि संगीतमा आकर्षित भएका हुन् । पढाइको सिलसिलामा दार्जिलिङमा हुँदा डायमण्ड र कोलकातामा ब्रदरहुड ब्याण्ड आवद्ध भएका लिम्बुले पछि किशोर गुरुङ र देव रानासँग मिलेर प्रिजम ब्याण्ड खोले ।
हालसालै मात्रै बेलायतमा कन्र्सट गरेर फर्किएका लिम्बुलाई फेरि एकपटक पुरानो प्रिजम ब्याण्डका साथ नेपालमै कन्सर्ट गर्न मन छ । उनले भने, “अब पहिलेका साथीहरु तितरबितर भए । उमेर पनि ढल्किसक्यो । एकपटक सबै मिलेर एउटा कन्र्सट गरौं भन्ने मनमा छ ।”
उनलाई बच्चु कैलाश र माणिक रत्नको गीतमा गिटार बजाउन नपाएकोमा पछुतो छ । भन्छन्, “उतिबेला समय छँदै बजाएको भए हुन्थ्यो होला । पछि उहाँले गाउन छोड्नु भयो । रेडियो नेपाल छिर्दिन भनेर माणिरत्नले घोषणा नै गर्नुभयो । उहाँहरुको गीतमा बजाउन नपाएकोमा पछुतो छ ।”
उनी आफूलाई कम्पोजर भन्दा पनि गिटारिस्ट मान्छन् । “मेरा सयौं गीतहरु छन् । तर मलाई आपूmले सिर्जना गरेको गीतभन्दा पनि बेस गिटारिस्टका रुपमा श्रोताले चिनुन् भन्ने लाग्छ ।” उनले भने ।
सलाम ज्यूँदो इतिहासलाई कार्यक्रममा लिम्बुका हावासँगै, आजाद भएर हेर, हलचल भो, सागरझैं गहिरो र छाडिजनो मायालुको यति धेरै माया बोलको गीत छिरिङ भुटिया, समृद्धि परियार, दिनेश महर्जन र समीक्षा दाहालले प्रस्तुत गरेका थिए ।