नेपालमा झन्डै २७ हजार हेक्टरमा केरा खेती हुने गरेको तथ्याङ्क, स्वदेशी उत्पादन बढेपनि आत्मनिर्भर हुन भने चुनौती

वैशाख ८, २०८३ | काठमाडौं

नेपालमा करिब ५ हजार हेक्टरभन्दा कम क्षेत्रफलबाट सुरु भएको केरा खेती अहिले लगभग २७ हजार हेक्टरमा विस्तार भएको छ । तर वार्षिक १५ देखि २० प्रतिशत केरा आयात हुँदै आएको छ, जसले आत्मनिर्भरतामा चुनौतीपूर्ण बनाएको छ । पछिल्लो समय नेपालले वार्षिक करिब २ अर्ब रुपैयाँभन्दा बढीको केरा आयात गर्दै आएको सरकारी तथ्यांकले देखाएको छ ।

सरकारी तथ्यांक अनुसार सन् १९९० को दशकयता नेपालमा केरा खेतीको क्षेत्रफल र उत्पादनमा ६ देखि ७ गुणाले वृद्धि भएको छ । करिब ५ हजार हेक्टरभन्दा कम क्षेत्रफलबाट सुरु भएको केरा खेती अहिले लगभग २७ हजार हेक्टरमा विस्तार भएको छ । तर, यो वृद्धि हुँदाहुँदै पनि नेपालले वार्षिक करिब २ अर्ब रुपैयाँभन्दा बढीको केरा आयात गर्दै आएको कृषि मन्त्रालयको भनाई छ । मन्त्रालयका अनुसार हाल नेपालमा कुल मागको करिब १५ देखि २० प्रतिशत केरा बाहिरी मुलुकबाटै आइरहेको छ । चालु आर्थिक वर्षको ८ महिनामा करिब ७६ करोड ५५ लाख ६ हजार रुपैयाँको १ करोड ९४ लाख ३९ हजार २ सय ४१ किलो केरा आयात भएको सरकारी तथ्यांक छ । 

केरा उत्पादनको वास्तविक अवस्था र भावी रणनीतिबारे सरकारले केही समयअघि गठन गरेको कार्यदलले नेपालमा केरा खेतीको प्रचुर सम्भावना भए पनि संरचनागत सुधार नगरेसम्म बजार असन्तुलन र परनिर्भरता कायमै रहने निष्कर्ष निकालेको थियो । कार्यदलको प्रतिवेदन अनुसार केराको अभाव र मूल्यवृद्धिको कारणमा भारतबाट आयातमा कडाइ, पानामा टीआर–४ रोग, आन्तरिक उत्पादन असन्तुलन र किसानका नीतिगत समस्या देखिएका छन् । समग्र उत्पादनमा गाउँघरमा हरेक परिवारले आफ्नो लागि लगाएको केरा जोडिएपनि माग अनुसार नहुँदा अभाव सिर्जना हुने गरेको छ । 

केरा खेती गर्ने किसानका लागी कस्ता योजना छन् भन्ने प्रश्नमा कृषी तथा पशुपन्छी विकाश मन्त्रालयका सूचना अधिकारी लाल कुमार श्रेष्ठले "भने अहिले त्यस्तो खासै केही तयारी भएको छैन् । तर विगतमा भएका सबै कामहरु निरन्तर भैरहेका छन् । जस्तै मल, बेर्ना, र क्वारेन्टाईनको काममा मनत्रालय सक्रिय छ ।"

नेपालमा विशेषगरी तराई क्षेत्रका साथै भित्री मधेश र पहाडका बेसीहरुमा केरा खेती गरिन्छ । घरायसी प्रयोजनका लागी धेरै पहिलेदेखि नै केरा खेती गर्ने गरिएपनि अहिले भने व्यवसायिक केरा खेतीप्रति कृषकहरुको आकर्षण बढेको छ । चितवन, नवलपरासी, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कन्चनपुर, झापा, दाङ, रुपन्देही, बारा, सर्लाही, मोरङ, सुनसरी लगायत जिल्लामा केराको व्यवसायिक खेती छ । विज्ञहरुका अनुसार नेपालमा क्षेत्रफलका हिसाबले आँप र सन्ुतलाजातका फलफूल पछि केरा तेश्रो स्थानमा पर्दछ । केरा खेती गर्ने किसानले भने मल, बिमा, प्राविधिक ज्ञान र बजार व्यवस्थापनमा गम्भीर समस्या भोगिरहेको मोरङका किसान सुरेन्द्र पौडेलले बताएका छन् ।

नेपालमा अधिकांश केरा दसैंतिहार लक्षित गरी उत्पादन गरिन्छ, जसले गर्दा चाडपर्वमा उत्पादन बढी भई किसानले मूल्य नपाउने र अरू बेला बजारमा अभाव हुने गरेको सरोकारवालाहरु बताउछन् । तर पछिल्लो समयमा भने किसानलाई बेमौसमी उत्पादनका लागि प्रोत्साहन गर्नुपर्ने आवश्यकता देखिएको उनीहरुको भनाई छ । यस्तै सरकारी अनुदान र सहयोगका कार्यक्रम आर्थिक वर्षको अन्त्यमा नभई सुरुमै उपलब्ध गराउनुपर्ने देखिएको छ । अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा केराको मूल्य आकाशिएको छ । होलसेलमै प्रतिदर्जन अधिकतम २ सय ५० रुपैयाँ पुगेको छ भने खुद्रा बजारमा उपभोक्ताले ३ सय ५० रुपैयाँसम्म तिर्न बाध्य भएको नेपाल केरा उत्पादक महासंघ काठमाडौंका केन्द्रीय अध्यक्ष विष्णुहरि पन्तले बताए ।

केरा आयात नहुँदा उपभोक्ताको माग पुरा हुन नसकेको र त्यसको प्रभाव बजारमा परेको हो । रोग भित्रिने डर देखाएर भारतीय केराको आयात रोकेको हुदाँ केराको मूल्य आकाशिएको विज्ञहरुले बताएका छन् । गत आर्थिक वर्ष ३ लाख ८२ हजार टन केरा आन्तरिक उत्पादन र ५६ हजार टन आयात गरिएकोसहित गरी ४ लाख ४० हजार टन केरा मुलुकमा खपत भएको सरकारी तथ्यांक छ । यसरी हेर्दा १२ देखि १४ प्रतिशत मात्रै आयात गर्नुपर्ने अवस्था छ । अहिले उत्पादन कम र खपत बढी हुँदा समस्या देखिएको व्यवसायीको भनाइ छ । 


<iframe width="827" height="465" src="https://www.youtube.com/embed/ILomtq3dsJ0" title="नेपालमा झन्डै २७ हजार हेक्टरमा केरा खेती भएपनि स्वदेशी उत्पादनमा आत्मनिर्भर हुन चुनौती - Sabistar" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>


प्रतिक्रिया