हरेक पटक नयाँ क्षेत्र पुग्ने पुष्पकमल दाहालको बाध्यता कि रहर ?
माघ १, २०८२
काठमाडौँ । समकालिन नेपाली राजनीतिका एक प्रमुख पात्र पुष्पकमल दाहाललाई धेरैले अस्थिर छविको नेताको रुपमा बुझ्दै आएका छन् । भलै दाहाल स्वयम्ले भने आफूलाई गतिशील व्यक्ति र आवश्यकता अनुसार लचक हुन सक्ने अनि साहसिक निर्णय लिने नेताको रुपमा अथ्र्याउने गरेका छन् । जेन जी आन्दोलनपछि विकसित घटनाक्रमसँगै निर्धारित फागुन २१ गतेको निर्वाचनमा उनै दाहालले कहाँबाट चुनाव लड्छन् भन्ने आमचासो देखिन्छ किनभने सशस्त्र विद्रोह छाडेर शान्तिपूर्ण राजनीतिमा आएपछि उनले हरेक पटक निर्वाचन क्षेत्र बदल्दै आएका छन् । चुनाव नजिकिँदै गर्दा दलहरुको तयारी पनि तीव्र छ । चुनावलाई लक्षित गरी दलहरुसँग मिल्ने तथा गठबन्धन बनाउनेदेखि उम्मेदवार सिफारिस लगायत चुनावी रणनीतिमा सबैजसो दल व्यस्त छन् । यही क्रममा तीन पटक प्रधानमन्त्री भइसकेका र हाल नेपाल कम्युनिस्ट पार्टीका संयोजक रहेका दाहालले रुकुम पूर्वबाट उठ्ने घोषणा गरिसकेका छन् । पुस २६ मा आयोजित पार्टीको कार्यक्रममा सम्बोधन गर्दै उनले सो क्षेत्रबाट उठ्ने उद्घोष गरेका थिए ।
संविधानको प्रावधान अनुसार प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकमा १ सय १० सिटका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । नयाँ र वैकल्पिक भनिएका दलहरुको प्रतिस्पर्धाले आगामी निर्वाचनलाई रोचक बनाउने अपेक्षाबीच प्रमुख दलका नेताहरुले कहाँबाट चुनाव लड्ने हो भन्नेमा बढी चासो छ । आफूले रोजेको कुनै पनि क्षेत्रबाट लड्न नेताहरुलाई कुनै बाधा छैन । इच्छुक उम्मेदवारले आफ्नो स्थायी बसोबास भएकै क्षेत्रबाट चुनाव लड्नुपर्छ भन्ने छैन । तर दाहालको हकमा निर्वाचन क्षेत्र हरेक पटक फेरिदै आएको छ । मूलधारको राजनीतिमा आएपछि उनले पाँच पटक चुनाव लडिसकेका छन् । पहिलो पटक २०६४ मा संविधानसभाको निर्वाचनमा दाहालले काठमाडौँ क्षेत्र नं. १० र रोल्पा क्षेत्र नं. २ बाट जितेका थिए । त्यसबेला उनी माओवादी पार्टीका अध्यक्ष थिए । दाहालले त्यसबेला दुवै क्षेत्रमा जित्ने मात्र होइन चुनावमा २२९ सिट ल्याएर माओवादीलाई पहिलो दल नै बनाएका थिए । दोस्रो पटक २०७० मा भएको संविधानसभाको निर्वाचनमा दाहाल काठमाडौँ १० र सिरहा ५ बाट उठ्दा काठमाडौँमा भने नेपाली कांग्रेसका उम्मेदवार राजन केसीसँग पराजित भएका थिए । सिरहामा पनि नेकपा एमालेका प्रतिद्वन्द्वीसँग झिनो मतले विजयी भएका थिए । एमालेका उम्मेदवार लीलानाथ श्रेष्ठले १४ हजार ३२३ मत ल्याउदा दाहालले १५ हजार २ सयि ४४ मत ल्याई आफ्नो साख जोगाएका थिए । नयाँ संविधान अनुसार २०७४ मा भएको निर्वाचनमा दाहाल आफ्नो पुख्र्यौली थलो भन्दै चितवन–२ पुगे । रोल्पा वा सिरहामध्ये एक रोज्ने भन्दै अन्ततः उनी चितवन पुगेका थिए र जिते पनि । २०७९ को चुनावमा कंग्रेससहितको गठबन्धनमा दाहालले आफ्ना पूर्व सहकर्मी डा. बाबुराम भट्टराईको समेत समर्थनमा गोरखा–२ बाट जितेका थिए । यसरी हरेक निर्वाचनमा भिन्दाभिन्दै क्षेत्र रोज्नुको कारण के हो भन्ने प्रश्नमा २०७९ को निर्वाचन अघि कान्तिपुर टेलिभिजनसँगको अन्तवार्तामा दाहालले राजनीतिक उदेश्य र अर्थपूर्ण सहभागिताको लागि उठ्ने गरेको बताएका थिए ।
२०७९ को निर्वाचनमा कंग्रेससहितको गठबन्धन गर्दै चुनाव लडेका दाहालको पार्टी माओवादी केन्द्र तेस्रो शक्तिमा सीमित भएको थियो । ३२ सिटको पार्टी भएपनि सत्ता गठबन्धन फेर्दै तेस्रो पटक प्रधानमन्त्री भएका उनले डेढ बर्ष भन्दा बढी समय मुलुकको कार्यकारी पद सम्हालेका थिए । अहिले राष्ट्रिय राजनीतिमा ठूलो उथलपुथल मात्र भएको छैन, दाहाल माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको संयोजक छन् । राष्ट्रिय राजनीतिमा चालेका कदम र भूमिकालाई लिएर सबैभन्दा आलोचितमध्येका एक प्रमुख नेता दाहालले आगामी चुनावका लागि माओवादी विद्रोहको प्रभावयुक्त क्षेत्र रुकुम पश्चिम रोजेका छन् । यसरी दाहालले लगातार फरक निर्वाचन क्षेत्रबाट उठ्नुलाई अघिल्लो क्षेत्रमा उठ्दा पराजित हुन सक्ने डर र चुनाव जित्ने आत्मविश्वासको कमी लगायत कारणको रुपमा हेरिएको छ । नेपाली कम्युनिष्ट पार्टीका नेता भने यसलाई मान्न तयार छैनन् । सो पार्टीका युवा नेता सुरेन्द्र बस्नेत राष्ट्रिय नेता फरक स्थानबाट उठ्दा त्यसले त्यहाँको बजेट, विकास र आयोजनाहरुमा समेत प्रभाव पार्ने धारणा राख्छन् ।
रुकुम पूर्वबाट चुनाव लड्ने घोषणा अघि दाहाललाई ९ वटा क्षेत्रबाट उम्मेदवार सिफारिस गरिएको थियो । तर पार्टीको प्रभाव क्षेत्रबाट फेरि चुनाव जित्ने योजनामा उनी लागेका छन् । हुन त चुनावमा कुन क्षेत्रबाट उठ्ने भन्ने सवाल व्यक्तिको आफ्नो रोजाइँ हो । राजनीतिक विश्लेषकहरु भने दाहाल लगायत प्रमुख नेताले अब नयाँ पुस्तालाई मौका दिनुपर्ने बताउँछन् । विश्लेषक श्याम श्रेष्ठका अनुसार दाहाल जस्ता शीर्षस्थ नेताले फरक स्थानबाट लड्ने भन्दा पनि नयाँ पुस्तालाई ठाउँ छोडिदिनु उपयुक्त हुन्छ ।
नेताहरुले उम्मेदवार बनेर जाँदा नागरिकसँग अनेक बाचा गर्छन् । दाहालले पनि अघिल्लो पटक गोर्खाबाट उठ्दा सडकबाटोदेखि उद्योगधन्दा र जलविद्युत् आयोजनासमेत निर्माण गर्ने बाचा गरेका थिए । दाहालले चुनाव मात्र जितेनन्, संसदमा ३२ सिट मात्रै जितेपनि प्रधानमन्त्री बन्ने मौका पाएका थिए । तर आम नागरिकको अपेक्षा अनुसार काम गर्न नसकेको गुनासो छ । दाहालको चुनावी बाचा र अहिलेको अवस्थाबारे गोरखाबाट कान्तिपुर सहकर्मी हरिराम उप्रेती भन्छन्, “सडक निर्माणमा केही कार्य भएपनि गोरखकाली रबर उद्योग, बुढीगण्डकी जलविद्युत् निर्माणको कार्य अझै सुरु हुन सकेको छैन ।”
दाहालको चुनावी क्षेत्रबारे चासो व्यक्त भइरहँदा प्रधानमन्त्री भइसकेका अन्य प्रमुख दलका नेताले भने आफ्नो पुरानै क्षेत्रबाट चुनाव लड्ने तरखर गर्दैछन् । ५ पटक प्रधानमन्त्री भइसकेका शेरवहादुर देउवा आफ्नो सदावहार क्षेत्र डडेल्धुराबाटै आगामी चुनाव लड्ने तयारीमा छन् । त्यस्तै, एमाले अध्यक्ष केपी ओलीलाई झापा ५ बाटै उम्मेदवार सिफारिस गरिएको छ । रास्वपाका वरिष्ठ नेता बालेन शाह पनि झापा ५ बाटै चुनाव लड्ने चर्चा छ । अघिल्लो पटक चितवन २ बाट जितेका रास्वपा सभापति रवि लामिछाने कहाँबाट चुनाव लड्ने भन्ने निश्चित भइसकेको देखिदैन । नेपाली कम्युनिष्ट पार्टीका माधवकुमार नेपाल रौतहटबाटै चुनावमा प्रतिस्पर्धा गर्दै छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन गृहजिल्ला झापाको तीन नम्वरबाटै उठ्ने तयारीमा रहेको बताइन्छ ।











